गोरखा । शहिद लखन गाउँपालिका–६ को घैरुङ स्वास्थ्य चौकीमा हिजोदेखी भएको निःशुल्क स्वास्थ्य शिविर समापन गरिएको छ ।
रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाको आयोजनामा हिजो र आज भएको ‘बृहत स्वास्थ्य शिविर’ समापन भएको हो ।
लायन्स क्लब अफ गोरखाकालिका, प्रभु र सानिमा बैंकको सहयोग रहेको शिविरमा जाँच गराउने आउने मध्ये ४ जना महिलाको पाठेघरमा क्यान्सरको लक्ष्यण देखिएको शहिद लखन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनीहरुलाई पहिलो चरणको सेकाई बिधीद्वारा उपचार गरीएको छ । थर्मोक्रोवुलेशन (सेकाउने) बिधीद्वारा उपचार गरी उनीहरुलाइ घर पठाइएको र १ बर्ष पछी गाउँपालिकाले नै उनीहरुलाई सम्र्पक गरी थप उपचारको ब्यवस्था मिलाउने पनी प्रमुख श्रेष्ठले जानकारी दिए ।
शिविरमा विशेषज्ञ डाक्टरहरुको समूहले महिलाहरुलाई हुने पाठेघरको क्यान्सर स्क्रिनिङ्ग अर्थात भिआईए जाँच गरीनुका साथै हाडजोर्नी, स्त्री रोग, चर्मरोग, मधुमेह, जनरल ओपिडी तथा विविध रोगका परिक्षण गरेका थिए ।
शिविर अवधीभर ५२५ जना बिरामीले सेवा लिएका थिए । जसमध्ये ३५८ जना महिला र १६७ जना पुरुष रहेको लायन्स क्लब अफ गोरखा कालिकाकी सचिव लक्ष्मी श्रेष्ठले जानकारी दिइन ।
उनका अनुसार ४१ जना महिलाले पाठेघरको स्क्रिनिङ्ग गराएका थिए । शिविरमा १० जनाले दाँत उपचार, १४९ जनाले हाडजोर्नी सेवा, ९० जना महिलाले स्त्रीरोग परिक्षण, २२ जनाले छाला रोग, ७३ जनाले ल्याब सेवा र २५४ जनाले जनरल सेवा लिएका छन् ।
शिविरमा आउने सबै बिरामीहरुलाई निःशुल्क औषधी बितरण गरीएको थियो । शिविरमा ३ लाखभन्दा बढीको औषधी बितरण गरीएको सचिव श्रेष्ठले बताईन ।


