गोरखा । गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवद्र्धनका लागि ‘स्रष्टा पदयात्रा’ सुरु भएको छ । देशभरका ३५ जना चर्चित साहित्यकारहरु जिल्लाको इतिहासको अध्ययनका लागि ‘स्रष्टा पदयात्रा’ का लागि गोरखा आइपुगेको हाे ।
उनीहरुलाई गाेरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले सदरमुकाममा स्वागत गरेका थिए । नगरपालिकाले स्रष्टा सम्मानमा एक कार्यक्रम राखेकाे थियाे । मेयर राना मगरले कार्यक्रममा नेपाल एकिकरणको इतिहास बोकेको गोरखाको इतिहास बुझ्न र बुझाउन आवश्यक भएकाे भन्दै यसका लागि स्रष्टा पदयात्राको अहम् भूमिका रहने विश्वास ब्यत्त गरे ।
गोरखा ऐतिहासिक, सांस्कृतिक र धार्मिक विविधताको हिसावले अन्यन्तै सुन्दर क्षेत्र रहेकाले पदयात्री साहित्यकारको कलमले अब त्यसलाई उजागर गर्ने विश्वास व्यक्त उनले ब्यत्त गरे ।
पदयात्रा नेपालका अध्यक्ष शितल गिरीको नेतृत्वमा श्रष्टा पदयात्रीहरु गाेरखा आइपुगेका हुन् । पदयात्राका क्रममा स्रष्टाहरुले जिल्लाको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन अवलोकन गर्दै लेख रचना, तथा भिडियो डकुमेन्ट्रीमार्फत उजागर कार्यक्रम राखिएकाे अध्यक्ष गिरीले जानकारी दिए ।
पदयात्रामा चर्चित गजलकार ज्ञानुवाकार पौडेल, साहित्यकार खोलाघरे साइलो, शान्ति सापकोटा, हरिश कल्पित, डा. बालचन्द्र मिश्रलगायतको सहभागिता रहेको छ ।
पदयात्रामार्फत गोरखाको इतिहास चिन्न र चिनाउन मद्दत पुग्ने अध्यक्ष गिरीले बताए । ‘‘यहाँ जन्मनु भएका नेपालका प्रथम सहिद लखन थापालाई चिनाउनु छ, हामी त्यसलाई खोज्न आएका हौ, उनले भने, ‘‘तपाईहरुले चिनाउनुहोस्, हामी लेखिदिन्छौ ।’’ उनले स्थानीय कला संस्कृतिलाई जोगाउन सकेमात्र पर्यटकलाई आर्कषित गर्न सकिने बताए ।
‘‘गोरखा र गोरखनाथलाई चिनाउन सकेमात्र गोरखाको इतिहास चिन्न सक्छौ, अध्यक्ष गिरीले भने, ‘‘बाहिरबाट आएका पर्यटकलाई गोरखाले के दिने भन्ने बारेमा अब योजना बनाउनुपर्छ ।’’ उनले गुरु गोरखनाथको प्रसादको रुपमा रहेको ‘रोट’लाई मात्र चिनाउन सकेपनि जिल्लाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
पदयात्राले गोरखा भ्रमणबर्षलाई थप उचाइमा पुर्याउनका लागि महत्वपूर्ण सहयोग पुग्ने नगरपालिकाकी उप प्रमुख मसली माया थोकर पुन:ले विश्वास व्यक्त गरिन । गोरखा नगरपालिकाले गोरखा भ्रमण बर्षको घोषणा गर्दै ‘गोरखा : जहाँ इतिहास जिवित छ’ भन्ने नाराका साथ इतिहासको प्रवर्द्धन गर्ने योजना अघि बढाएको छ ।


