गोरखा । गोरखाको बारपाक सुुलिकोट गाउँपालिकाले पालिका भित्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ ।
गाउँपालिकाले वडा नम्बर ६ स्थित बाह्रकोटमा मनास्लु छात्राबास सञ्चालनमा ल्याएर अभिभावकविहिन बालबालिकालाई खानबस्नको व्यवस्थासहित निशुल्क पठनपाठनको सुविधा उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले बताए ।
‘‘चालु शैक्षिकसत्रदेखि नै पालिका भित्र विद्यालय जान नपाएका अभिभावकविहिन बालबालिकालाई निःशुल्क खान,बस्न र पठनपाठनको व्यवस्था गर्दै आएका छौँ, उहाँले भने, ‘‘अहिले १९ जना अनाथ बालबालिका गाउँपालिकाले सञ्चालन गरेको छात्राबासमा बसेर विद्यालयमा पठनपाठन गरिरहेका छन् ।’’
पालिकाले छात्रबासमा बस्दै आएका बालबालिकालाई नजिकै रहेको श्री सूर्यज्वोती माध्यामिक विद्यालयमा पठनपाठनको व्यवस्था मिलाएको छ । अनाथ बालबालिका कोही पनि विद्यालय जानबाट बन्चित हुन नपरोस् भन्ने उद्देस्यले गाउँपालिकाले निःशुल्क छात्रबास तथा पठनपाठनको व्यवस्था गरेको उनको भनाई छ ।
पालिकाले सञ्चालनमा ल्याएको मनास्लु छात्रबासमा ९ जना छात्रा र १० जना छात्र गरी १९ जनाले खान,बस्न र पठनपाठनको सुविधा लिइरहेको छात्राबासका व्यवस्थापक सूर्यकुमार श्रेष्ठले बताए । ‘‘उनीहरु सवैलाई कक्षा १२ सम्म गाउँपालिकाले निःशुल्क शिक्षा उपलब्ध गराउनेछ, व्यवस्थापक श्रेष्ठले भने, ‘‘बालबालिकाका लागि आवश्यक पर्ने केही लत्ताकपडा, कितावकापी, कलमलगायतका सामाग्री इच्छुक दाताहरुसंगसमेत सहयोग लिने गरेका छौ ।’’
आगामी शैक्षिकसत्रदेखि आर्थिक अभावका कारण कोही पनि अभिभावकविहिन बालबालिका विद्यालय जानबाट बन्चित हुनुनपर्ने उनको भनाई छ । ‘‘नयाँ शैक्षिकसत्रबाट पालिका भित्रका सवै वडामा पुनः एकपटक घरघरमा पुगेर अनाथ बालबालिकाको अवस्थाको अध्ययन गरेर विद्यालयमा भर्ना गराउने योजना गाउँपालिकाको छ, श्रेष्ठले भने, ‘‘त्यसका लागि छात्राबासमा थपबालबालिका राख्नका लागि आवश्यक व्यवस्थापनको काम पनि भइरहेको छ अव बारपाक सुलिकोटमा कोही पनि अनाथ बालबालिका विद्यालय बाहिर रहनुपर्ने अवस्थाको हुँदैन ।’’
अनाथ बालबालिकालाई निःशुल्क पठनपाठन तथा खानबस्नको व्यवस्थाका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा १२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । बालबालिकाको स्याहार सुसारका लागि पालिकाले छात्राबासमा २ जना महिला कार्यालय सहयोगी, छात्राबास सुरक्षाका लागि सुरक्षागार्ड र १ जना वार्डेनको व्यवस्थासमेत गर्दै आएको छ ।



