गोरखा । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ ले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध सडकमा आउने प्रयास दिवा सपना मात्र हुने बताएका छन् ।
गाेरखाकाे बारपाक सुलिकोट गाउँपालिकामा हिजाे जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २९औँ स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बाेल्दै पुनले त्यस्ताे कुरा बताएका हुन् ।
‘‘गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको छ, उनले भने, ‘‘दुईपल्ट उपराष्ट्रपति पनि भँए तर गणतन्त्रमार्फत प्राप्त भएका समानुपातिक समावेशी अधिकारी कसरी हत्याउन सकिन्छ भनेर प्रतिगामी शक्तिहरु क्रमसः हावी हुँदै गएको मैले देखेँ ।’’ देशको राजनीति, जनताको आधारभूत आवश्यकता र समस्याका बारेमा आफुले नजिकबाट हेरिरहेको उनको भनाई छ ।
‘‘अहिले गणतन्त्रमाथि आक्रमण गर्ने थुप्रै शक्तिहरु जुरमुराउन थालेका छन्, सडकमा आउने कोसिस पनि गरिरहेका छन् तर म भन्छु ती सवै दिवा सपना हुन्, पूर्वउपराष्ट्रपति पुनले भने, नेपाली जनता त्यस्तो क्रान्तिकारी जनसमुदाय हो जो प्रतिगामी, पछ्यौटेको पछि लाग्न चाँहादैन, अग्रगामी, चिन्तनको अगाडी एकाकार हुन् चाहान्छ ।’’
नेपाली जनता संविधानले निदृष्ट गरेको बाटोमा अघि बढ्न चाहेको उनले बताए । संविधानले समाजवादको परिकल्पना गरेको भन्दै पूर्वउपराष्ट्रपति पुनले त्यसले मात्र सवै सहिदहरुको सपना पनि पुरा हुने उल्लेख गरे । जनताका आवश्यक एकैचोटी सवैथोक पुरा हुन नसक्ने भएपनि पार्टीहरुले निरन्तर जनताको पक्षमा काम गर्नुपर्नेमा उनले जोड दिए ।
‘‘जनताको विकास प्रतिको भावना र चाहाना निकै तिव्र छन्, छिटोभन्दा छिटो परिवर्तन होस् भन्ने पक्षमा जनता छन्, पूर्वउपराष्ट्रपति पुनले भने, ‘‘अहिलेको अवस्थाले जनताका ती सवै आवश्यकता पूरा गर्नसक्ने अवस्था त छैन तर प्रतिवद्ध भएर लाग्नुपर्छ ।’’.


