गोरखा । उत्तरी गोरखामा पुनः हिमपात सुरु भएको छ । गएरातीदेखी हिमपात भएको साम्दोका स्थानिय निमा दोर्जे लामाले जानकारी दिए ।
उनका अनुसार यो बर्ष हिउदमा अहिलेसम्मकै ठुलो हिमपात भएको उनले बताए । ‘लामो सुख्खा पछी दोस्रो पटक हिउँ परेको हो’ उनले भने ‘दुई दिन अगाडी सामान्य हिउँ परेको भएता पनि अहिले परेको हिउँ यो सिजनै ठुलो हिमपात हो ।’
नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरको गाउँ साम्दोदेखी तलसम्म रहेको सामागाउँ र स्याँलासम्म हिउँ परेको उनले जानकारी दिए । मध्यराती १२ बजेदेखी सुरु भएको हिउँ अहिले बिहानसम्म पनि परीरहेको छ ।
साम्दोमा १ फिटभन्दा माथि हिउँ परेको उनले बताए । ‘तल स्याँलासम्म हिउँ परेको छ’ उनले भने ‘साम्दोमा अहिलेसम्म एक फिटभन्दा बढी हिउँ परेको छ ।’
हिमपातका कारण जन जिवन प्रभावित हुनुका साथै टेलिफोन र ईन्टरनेट सेवा समेत अबरुद्व भएको उनले बताए । ‘सोलारबाट चल्ने टेलिफोन र ईन्टरनेट कहिले आउने कहिले जाने भएको छ’ उनले भने ‘हिउँ पर्न नरोकिदासम्म सबै सेवा प्रभावित हुने देखिन्छ ।’
हिमपातकै कारण हिजो साँझ त्यस क्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पर्यटक समेत समस्यामा परेका छन् । उनीहरु होटल भित्रै बस्न बाध्य भएका छन् ।
मनास्लु पदमार्गको उक्त क्षेत्र भएर मनास्लु हिमाल आरोहण गर्ने तथा लार्के पास गरी मनाङ जाने पर्यटक प्रभावित भएको हो ।
हिउँपर्दा खुशी
केही दिन यता उत्तरी गोरखामा हिमपात हुन थालेपछी स्थानिय खुशी भएका छन् । हिउँले जनजिवन प्रभावित पार्ने भए पनि अन्नबाली राम्रो हुने भएका कारण स्थानिय खुशी भएका हुन् ।
स्याँला क्षेत्रका स्थानियले यस अघि नै करु रोपेको तर उम्रन नपाएकोले यो हिमपात संगै करु खेती राम्रो हुने भएकाले खुशी भएका हुन् ।
त्यस्तैगरी सामागाउँ र साम्दोमा अबको १ महिना पछी खेती सुरु हुने भएकोले हिउँले जमिन खुकुलो हुने र खेती गर्न सहज हुने भएपछी खुशी भएको लामाले जानकारी दिए ।
सामागाउँ र साम्दोमा करु, जौ, आलु, फापर र चरुको खेती हुने गर्दछ ।
तस्बिर : निमा दाेर्जे लामा/साम्दाे




















