फाइल तस्बिर
काठमाडाैं । बजारमा माग बढेसँगै अलैंचीको भाउ उच्च बिन्दुमा पुगेकाे छ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा अलैंचीको गुणस्तरका आधारमा आज प्रतिमन (४० किलो) को १ लाख ७ हजार रुपैयाँसम्ममा खरिद/बिक्री भएको छ ।
अलैंची व्यवसायीहरुका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर गरी २ प्रकारले खरिद/बिक्री हुने गरेकाे छ । ठूलो दाना भएको, पुच्छर काटेको, धुलोरहितको अलैंची प्रतिमन १ लाख ७ हजार र मध्यम गुणस्तरको अलैंची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैंची प्रतिमन १ लाख ४ हजार रुपैयाँमा खरिद/बिक्री भइरहेको छ ।
सामान्य गुणस्तर भएको अलैँची प्रतिमन १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको ब्यवसायीहरु बताउछन् । कृषि विज्ञहरूका अनुसार सामान्यतया बजारमा नयाँ उत्पादन आउन थालेपछि मूल्य घट्ने सम्भावना हुन्छ । यस वर्षको अवस्थामा भने उल्टो देखिएको छ । अलैंचीकाे मूल्य निरन्तर वृद्धि हुँदै गएको छ ।




















