गाेरखा । गोरखामा माओबादीका युवाहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समितिको आयोजनामा १ दिने सूचना प्रविधि तथा सामाजिक सञ्जाल सम्बन्धी तालिम प्रदान गरिएको हो ।
माओवादीले पार्टीको आफ्ना विचार तथा कार्यक्रमलाई सामाजिक सञ्जालमार्फत आम जनतासम्म पुर्याउनका लागि विभिन्न पालिकाबाट प्रतिनिधि छनौट गरेर सदरमुकाममा तालिम सञ्चालन गरेको इन्चार्ज अमर तमुले जानकारी दिए । तालिममा पार्टीका युवाहरुलाई मात्र समावेश गरिएको थियो ।
पछिल्लो समय राजनीतिक विचार, पार्टीको कार्यक्रम, माओवादी नेतृत्वको स्थानीय सरकारले गरेका सकारात्मक कामहरु जनतासम्म पुर्याउनका निम्ति र जनताले पार्टीलाई दिने रचनात्मक सुझावमार्फत पार्टीलाई थप जनपक्षीय बनाउदै लैजान सामाजिक सञ्जाल प्रभावकारी हुने भएकाले पालिका भित्रका नेताकार्यकर्तालाई तालिम प्रदान गरिएको माओवादी केन्द्र गोरखाले जानकारी दिएको छ ।
तालिममा ७० जना युवाहरुको सहभागिता रहेको पनि केन्द्रले जानकारी दिएको छ ।
प्रशिक्षण कार्यक्रममा रोशन ढकालले सूचना प्रविधिको विकास तथा सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । उनले सामाजिक सञ्जालमार्फत स्थानीय सरकारले गरेका कामको पर्याप्त प्रचार गर्नसके सुशासन र पारदर्शिताको विकास समेत हुने बताए ।
प्रशिक्षण कार्यक्रममा प्रेससेन्टर नेपालका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका इन्चार्ज दिपक श्रेष्ठले राजनीति र सामाजिक सञ्जाल विषयमा प्रशिक्षण दिएका थिए । उनले पछिल्लो समय राजनीतिक विचार र दृष्टिकोणलाई आम जनतासम्म पुर्याउने प्रमुख माध्यमका रुपमा सामाजिक सञ्जालको विकास भएकाले त्यसलाई अवलम्बन गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले सामाजिक सञ्जाललाई भरपुर उपयोग गर्न सके आम नागरिकहरुलाई पार्टीको सकारात्मक काम र विचारसँग सजिलै जोड्न सकिने बताए ।
कार्यक्रमको उद्घाटन गर्दै पार्टीका जिल्ला इन्चार्ज तमुले सूचना सञ्चार र सामाजिक सञ्जाललाई पार्टीको योजना नीति तथा कार्यक्रम प्रचारप्रसारका लागि महत्वपूर्ण माध्यमका रुपमा अगाडि बढाउन तालिम सञ्चालन गरिएको बताए ।
त्यस्तै पार्टीका जिल्ला संयोजक छमबहादुर गुरुङले जिल्लाको सबै स्थानीय तहमा यस्ता खालका कार्यक्रम सञ्चालन गर्ने पार्टीको योजना रहेको बताए ।
कार्यक्रम जिल्ला संयोजक गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।




















