काठमाडाैं । नेपाली बजारमा सुनको भाउले फेरि अर्काे कीर्तिमानी रेकर्ड बनाएको छ । नेपाली बजार खुल्नासाथ ताेलामा ६०० रुपैयाँले बढेर ताेलाकाे १ लाख ६५ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हाे ।
नेपाली बजारमा शुक्रवार सुन तोलाको १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियाे । सुनकाे याे भाउ अहिलेसम्मकै उच्च हाे ।
यस्तैगरी, चाँदीको भाउ पनि आज तोलामा ९५ रुपैयाँले बढेर तोलाको २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।
भाउ बढेपछि अब नेपाली बजारमा सुनका तयारी गहनाको मूल्य तोलाको झन्डै एक लाख ९० हजार रुपैयाँ पुगेको छ ।




















