काठमाडाैं । नेपाल राष्ट्र बैंकले दशैँका लागि यस वर्ष नयाँ नोट नछाप्दा राज्यकाे डेढ अर्ब रुपैयाँ बचत भएको छ । तर नोट सटहीको चाप भने घटेको छ ।
गएको वर्ष राष्ट्र बैङ्क काठमाडाैं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष झन्डै ४ अर्बमा सिमित भएको छ । यो झन्डै २५ अर्बले कम हो ।
नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छ भने सटहीका लागि थप जनशक्ति व्यवस्थापनको झन्झट व्यहोर्न नपरेको पनि राष्ट्र बैंकको भनाई छ । अघिल्लो वर्ष नयाँ नोट मुद्रणका लागि झन्डै डेढ अर्ब रुपैयाँ खर्च लागेको थियो ।
यस वर्ष बैंकले नयाँ नोट मुद्रण नगरी अहिले चलनचल्ती रहेका सफा र सुकिला नोटको प्रयोगलाई जोड दिएको छ । बैंकको नीतिअनुरुप यस वर्षको मुख्य चाडपर्वमा चलनचल्तीकै सुकिला नोट प्रयोग हुने भएका छन् ।



