जोमसोम । यस पटकको दशैंको लागि मुस्ताङबाट करिव ९ हजार भेडा-च्यांग्रा बाहिरिएको छ । बिहिबारसम्म करिब ९ हजार जति भेडा—च्यांग्रा निकासा भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला बाहिर पठाइएका भेडा-च्यांग्रामा उपल्लो डोल्पाबाट मुस्ताङ रुट हुँदै करिव ३ हजार र बाँकी मुस्ताङको लोमान्थाङ ,लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट पोखरा पठाइएको छ । त्यस क्षेत्रको भेडा–च्यांग्रा पोखरा हुदै देशको संघिय राजधानी काठमाडौं तथा ठुला शहरमा पुग्ने गर्दछ ।
मुस्ताङबाट निकासी हुने भेडाच्यांग्राको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र धौलागिरि प्राविधिक शिक्षालयले पशु निरोगिताको प्रमाणपत्र उपलब्ध गराउने गदर्छ । मानव स्वास्थ्यलाई मध्यनजर गर्दै बर्सेनि मुस्ताङबाट बाहिरिने दशै लक्षित भेडा–च्यांग्रा पशु निरोगिताको परीक्षण गर्ने गरिन्छ । पशुस्वास्थ्य परीक्षण गरेर मात्रै मुस्ताङबाट बिक्रीका लागि भेडा च्यांग्राको निकासी हुने गर्दछ ।
भेडा–च्यांग्राको स्वास्थ्य परीक्षण गरेवापत सम्वन्धित पशु चिकित्सकले प्रति गोटा १५ रुपैया लिने गरेको पनि पशुधनीहरुले बताएका छन् । पशु चिकित्सकले खोरेत रोग लागेनलागे पहिचान गरेपछि मात्र निरोगिताको पहेलो कार्ड दिने गर्छन ।
उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा च्यांग्रा नेपाल भित्रिन नपाएको र उपल्लो मुस्ताङमा पालन गरिएको च्यांग्राको रौं अर्थात पश्मिना काटेर बिक्री गर्ने गरिएकाले यसवर्ष भेडा–च्यांग्रा कम आएको हो ।
हिमाली क्षेत्रको पालन गरिने भेडा च्यांग्राले वन्य जटिबुटी यार्सा गुम्बा, निरमसी, जटामसी, पाँच औले, कुटुकी र वनलसुन जस्ता वनस्पती खाने भएकाले भेडा–च्यांग्राको मासु स्वादिलो र पोशिलो हुने गर्दछ ।



