गोरखा । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिका इन्चार्ज दिनानाथ शर्माले बर्तमान काँग्रेस एमालेको गठबन्धन सरकार जनताप्रति जवाफदेही र जिम्मेवार नभएको गुनासो गरेका छन् ।
नेकपा माओवादी केन्द्र गोरखा जिल्ला समन्वय समितिको सदरमुकाममा भएको पार्टी कार्यालयमा मगंलबार आयोजित १३औं बिस्तारित बैठकमा बोल्दै उनले भ्रष्टाचारमा मुछिएका र अनियमिततामा परेकाहरुलाई जोगाउनका लागि मात्र प्रचण्ड नेतृत्वको सरकारलाई हटाएर काँग्रेस एमालेले गठबन्धन गरेको वताए ।
इन्चार्ज शर्माले भ्रष्टाचार र सुशासनमा प्रचण्ड नेतृत्वको सरकारेको गरेको कामबाट काँग्रेस र एमाले अत्तालिएपछि २ ठूला दल मिलेर सरकार बनाएको भन्दै अहिलेको सरकार धेरै समयमा नटिक्ने र स्वार्थसंग जोडिएको सरकार भएकाले आफैले ढल्ने दावी समेत गरे ।
बैठकमा माओवादी केन्द्रका बरिष्ठ केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सहइन्चार्ज हरिराज अधिकारीले पार्टीले समाजिक न्याय सहितको सम्बृद्धिमा जोड दिदै आएको बताए । सत्तामा रहनु र सत्ताबाट बाहिरिनु माओवादीका लागि कुनै तात्विक फरक नरहेको भन्दै उनले सत्ता वाहिरै रहेर पनि जनताको पक्ष निरन्तर खवरदारी गरिरहनुपर्नेमा जोड दिए ।
उनले नेपालमा माओवादीको नेतृत्वमा मात्र नेपाली मौलिकतासहितको समाजावादी क्रान्ति सम्भव हुने बताए ।
बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज अमर तमुले मुलुकको स्वाधीनता र राष्ट्रियता जोगाउन सक्ने माओवादी वाहेक देशमा अन्य कुनै पार्टी नभएको बताए । उनले सवै खालका बामपन्थी शक्तिलाई केन्द्रित गरी अघि बढ्ने र माओवादीले समेत आफुले गरेका कमिकमजोरीलाई सच्याएर अघि बढ्नुपर्नेमा जोडदिए ।
बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुशिला सिंखडा, कृष्ण केसीलगायतले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
बैठकले गोरखाको चारवटै प्रदेश निर्वाचन क्षेत्रमा माओवादीले जितेको स्थानीय सरकारको कामलाई प्रभावकारी बनाउन र पार्टी सगठन सुदृढ पर्ना जिम्मेवारी समेत प्रदान गरिएको छ । जस अन्तरर्गत क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा, १ (ख) मा लोकप्रसाद बन्जरा, क्षेत्र नम्बर २ (क) मा कमला नहर्की र २ (ख) मा भगवती तिवारीलाई जिम्मेवारी तोकिएको पार्टीका जिल्ला संयोजक छमबहादुर गुरुङले जानकारी दिए ।
बैठकमा जिल्ला भित्रका ११ वटै पालिकाका पार्टी अध्यक्ष तथा इन्चार्जहरुले पालिकाको रिर्पोट पेश गरेको उनले बताए ।


