गोरखा । गोरखा संग्रालय खुल्ला भएको १६ बर्षको अवधिमा करिब ११ लाख स्वदेशी तथा विदेशीहरुले अवलोकन गरेका छन् । आर्थिक बर्ष ०६५–०६६ देखी ०८०–०८१ को जेठ महिनासम्म कुल १० लाख ७१ हजार ६३ जनाले संग्रालयको अवलोकन गरेको संग्रालय प्रमुम जयनारायण कार्कीले बताए ।
‘०६५ साल जेठ महिनादेखी संग्रालय खुल्ला गरिएको हो’ उनले भने ‘त्यतीबेला देखी ०८१ साल जेठ अन्तिमसम्म कबिर ११ लाख मानिसले संग्रालयका अवलोकन गरीसकेका छन् ।’
कार्यालयको रेकर्ड अनुसार संग्रालय अबलोकनका लागि आउने बिद्यार्थीहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । ५ लाख ६८ हजार ३५४ जना नेपालीले संग्रालयको अवलोकन गर्दा सोही अवधिमा ४ लाख ८७ हजार ६९४ जना बिद्यार्थीहरुले अवलोकन गरेको देखिन्छ ।
सोही अवधिमा १४ हजार १३२ जना विदेशी तथा ८८३ जना सार्क राष्ट्रका नागरिकहरुले पनि संग्रालयको अवलोकन गरेको देखिन्छ ।
०६५ साल जेठ १९ गते विधिवत रुपमा खुल्ला गरिएको संग्रालयमा सबैभन्दा बढी आर्थिक बर्ष ०७९–०८० मा १ लाख २३ हजार ७३१ जनाले अवलोकन गरेका थिए ।
संग्रालयले सोही अवधिमा कुल १ करोड ८४ लाख २० हजार १६२ रुपैयाँ राजश्व आम्दानी गरेको पनि प्रमुख कार्कीले जानकारी दिए ।
संग्रालयको अग्र भागमा भने तात्कालिन राजा रणबहादुर शाहको पालामा बिक्रम सम्बत १८५० ताका बनेको २ वटा तोप राखिएको छ । संग्रालय अवलोकन गर्न आउने मध्ये अधिकांशले तोपको बिचमा बसेर तस्बिर खिचाउने गर्दछन् ।
कुल ६८ रोपनी क्षेत्रफलमा फैलिएको यो संग्रालय परिषरमा करिब ३०० प्रजातिका रुख बिरुवाहरु देख्न सकिन्छ ।
संग्रालय भित्र तात्कालिन गोरखा राज्यको महत्व झल्किने ऐतिहासीक, पुरातात्विक, आर्थिक तथा संस्कृती झल्कने खालका बहुमुल्य सामाग्रीहरु रहेका छन् ।




















