गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पहिलो पटक वडा स्तरमा नै गएर बजार अनुगमन गर्न थालिएको छ । ७ वटा वडा रहेको पालिकामा ५ वटा वडामा अनुगमनको काम सम्पन्न भएको पालिका उपाध्यक्ष सुनिला गुरुङले बताए ।
‘यो भन्दा हामीले सदरमुकाम रहेको माछीखोलामा अनुगमन गरेका थियौ’ उनले भने ‘पहिलो पटक वडा स्तरमा नै पुगेर अनुगम थालेका छौ ।’ जेठ १८ गतेदेखी २४ गतेसम्म वडा नम्बर १, ३, ४, ५ र ७ को अनुगमन सकिएको उनले बताए ।
वडा नम्बर २ र ६ को अनुगमन गर्न बाँकी रहेको पनि उनले जानकारी दिए । उपभोत्ता हित संरक्षण तथा बजार अनुगमन समितिका संयोजक समेत रहेका पालिका उपाध्यक्ष गुरुङले अनुगमनका क्रममा बालबालिकाले प्रयोग गर्ने चकलेट, केक, आइक्रिम, लडु तथा पेय पदार्थहरुको मिति गुज्रिएइको पाईएकोले नष्ट गरिएको जानकारी दिईन ।
हुल्चुक, उहियाँ, लाप्राक, गुम्दा र लापुमा रहेका सबै पसल तथा होटलहरुमा समितिले अनुगमन गरेको थियो । अधिकांश सामान मिति गुज्रिएको पाइएपछी समितिले अबदेखी सामान खरिद तथा बिक्री गर्दा मिति हेरेर मात्र खरिद बिक्री गर्न सचेत गराएको पनि पालिका उपाध्यक्ष सुनिला गुरुङले बताए ।
उनका अनुसार यो अनुगमनलाई चुनौती र अवशरका रुपमा हेर्दै डिलरबाट सिधै मिति गुज्रीएको सामान आएकोले समन्वय गरेर फिर्ता गर्ने शर्तमा ति सामान सिल गरेर सम्वन्धित ब्यापारीलाई नै छाडीएको र बाँकी सामान भने जलाएर नष्ट गरिएको छ ।
बजार अनुगमनका क्रममा सामानको मिति, खान योग्य छ वा छैन तथा कानूनी प्रकृया पुरा गरेको छ वा छैन भन्ने कुरा हेरीएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले जानकारी दिए ।
पहिलो पटक वडा स्तरमा पुगेर अनुगमन गरिएकोले ब्यापारीहरुलाई सचेत गराउने काम भएको पनि उनले जानकारी दिए ।
अनुगमनका क्रममा नेपाल प्रहरीका प्रतिनिधीका साथै स्वास्थ्य शाखाका प्रमुख अमृत घले र गोरखा उद्योग बाणिज्य संघको माछीखोला ईकाइका अध्यक्ष धनकुमार गुरुङ एवं सामाजिक शाखा प्रमुख धनकुमारी दुराको समेत सहभागीता रहेको थियो ।




