काठमाडौं । आजदेखि फेरि वर्षा र बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अघिल्लो हप्ता लगातार भैरहेको वर्षा र बदली हटे पनि फेरि नयाँ मौसमी प्रणाली भित्रिन लागेको मौसमविदले बताएका छन् । यतिखेर सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भेगमा आंशिक बदली रहेको छ ।
दिउँसोपख कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै गण्डकी र कर्णाली प्रदेश लगायतका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अबको ३ दिनसम्मै पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


