साँकेतिक तस्बिर
गोरखा । गोरखा जिल्लाका अश्विन दानी र अर्जुन कुमाललाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । दुवै जनाले बहुमुल्य बस्तु ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको पुष्टी गरेको हो ।
प्रहरीले पक्राउ गरेका दानी गोरखा नगरपालिका–३ नारेश्वरका हुन भने कुमाल भिमसेन थापा गाउँपालिका–८ को भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
दानीले गोरखामा केही समय पत्रकारिता क्षेत्रमा काम समेत गरेका थिए । उनीहरुसँगै कपिलवस्तुका २७ बर्षीय इमान सिं सुनारलाई पनि नुवाकोट प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरिक्ष एवं सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।
उनका अनुसार गत फागुन ३० गते मुगा माला र टल्कने पत्थर किन्न भन्दै उनीहरु नुवाकोटको बिदुर नगरपालिका–७ महादेवखर्कस्थित चन्द्रबहादुर तामाङको घरमा पुगेका थिए । घरमा पुगेर सामान हेरेर ३५ लाखमा लेनदेन गर्ने पक्का पक्की भए लगत्तै पैसा नदिई सामान लिएर भागेको भन्ने उजुरीका परेपछी पक्राउ गरीएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
तामाङले आफ्नो सामान चोरी भएको नुवाकोट प्रहरीमा खवर गरेपछि प्रहरीले उनीहरुको खोजी कार्य तिव्र पारेको थियो । फोन ट्रयाकको आधारमा काठमाडौंको वालुवाटारस्थित उनीहरुकै कोठाबाट तीनै जनालाई पक्राउ गरिएको प्रनाउ खड्काले बताए ।
ठगी भएको खवर लगत्तै हाम्रै योजनामा तामाङलाई अरु पत्थर पनि छ भन्दै उनीहरुलाई लिन आउनु भनेर बोलाउन लगायौ । त्यही क्रममा हामीले उनीहरुको फोन ट्रयाक गर्दै लोकेसन पत्ता लगायौ र पक्रियौं प्रनाउ खड्काले बताए ।
ठगी गरेको सामान सहित उनीहरुलाई पक्राउ गरिएको नुवाकोट प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ठगी गरेको मुगा माला ४ थान, सि माला २ थान, आर माला र टल्कने पत्थर ९ थान समेत बरामद भएको प्रहरीले जानकारी दिए ।
पक्राउ परेका तिनै जना बिरुद्ध ठगी मुद्दा दर्ता गरी अदालतबाट आवश्यक अनुसन्धानका लागि म्याद थपगरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान भईरहेको पनि नुवाकोट प्रहरीले जनाकारी दिएको छ ।



