काठमाडौं । केही दिनदेखी मौसममा आएको परिवर्तन स्रगै आज हिमाली तथा उच्च पहाडी क्षेत्रहरुमा हल्का हिमपातको सम्भवना रहेको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पनि जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भू–भागको केही स्थान तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन सहित चट्याङ र छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखा द्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर आँशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
त्यस्तैगरी, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


