साँकेतिक तस्बिर
पाँचथर । चट्याङले लागेर पाँचथरमा १ जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।
गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक एवंसूचना अधिकारी सुमित कुशवाहाले जानकारी दिए । चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्याएका थिए ।
जिल्ला अस्पताल पुर्याएका उनलाई चिकित्सकहरुको टोलीले राति १२ बजे मृत घोषणा गरेका थिए । कार्यालयबाट गस्तीमा गएका माझी हावाहुरीसहित पानी परेपछि कार्यालय फर्किएर चौकीको ढोकामा उभिएका थिए ।
मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका ३५ वर्षीय माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत रहेका थिए ।


