गोरखा । बाग्लुङमा हिजो भएको बस दुर्घटनामा परी गोरखाकी एक जना महिलाको पनि ज्यान गएको छ । दुर्घटनामा परी ज्यान गुमाएका ९ जना मध्ये गोरखाकी गीता थापा रहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी मदन केसीले जानकारी दिए ।
उनका अनुसार पूर्वी रुकुमबाट काठमाडौंको लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस हिजो बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखका कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको पनि ज्यान गएको सूचना अधिकारी केसीले जानकारी दिए ।


