मुग्लिन । ईच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित सडक दुर्घटनामा परी १ जना भारतीय नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ३७ वर्षीय गौरी दासको भएको चितवन प्रहरीले पुष्टी गरेको छ ।
रोकी राखेको ना. ६ ख ३२८० नम्बरको ट्रकमा ग. १ ख ८५२४ नम्बरको बस गएराति ठोकिएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी दासको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
सोही दुर्घटनामा परी ट्रक चालक र बसमा सवार ३ जना घाईते भएका छन् । घाईते सबैलाई उपचारको लागि भरतपुरतर्फ पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















