बुटवल । सुन तस्करीको अभियोगमा पक्राउ परेका दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल ल्याइएको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा पुनलाई प्रहरीले हिजो काठमाडौंबाट पक्राउ गरेर बुटवल पठाएको हो ।
गएको साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध रहेको पाइए संगै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि पुनको संलग्नता रहेको भन्दै अनुसन्धानको दायरामा ल्याउन भनेको छ ।
सुन तस्करीबारे उनलाई पक्राउ गरेर अनुसन्धान हुँदै गर्दा सहकारी ठगीमा पनि यसअघि नै पक्राउ पूर्जी जारी भएकाले पहिला भैरहवा ल्याइएको हो । गितेन्द्रबाबु (जीबी) राईले रुपन्देहीमा सञ्चालन गरेको सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका थिए ।
दिपेश सुप्रिम सहकारीका पूर्वकोषाध्यक्ष हुन् । उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो । सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डे यसअघि नै पक्राउ परिसकेका छन् ।


