रौतहट । रौतहटमा मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार गरेर भारत तर्फ भाग्दै गरेका ३ जनालाई शसत्र प्रहरीले पक्राउ गर्न सफल भएको छ । परोहा नगरपालिका—२ मा रहेको शिव मनी ट्रान्सफरमा भारतको बिहारबाट आएका ३ जनाले लुटपाट गर्न खोज्ने क्रममा सञ्चालकमाथि गोली चलाएर भाग्दै गर्दा शसत्र प्रहरीले पक्राउ गरेको सहप्रवत्ता शैलेन्द्र थापाले जानकारी दिए ।
दिउसो १ बजेको समयमा जिल्ला रौतहट परोहा नगरपालिका–९ स्थित खाप आईएमई संचालक अन्दाजी बर्ष २४ को नितेश साहलाई गोली हानी भाग्दै गरेको अबस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट घिउरा नाकामा खटीएको सशस्त्र प्रहरी हवल्दार लक्ष्मणसिंह ठगुन्ना सहितको टोलि र प्रहरी चौकी जयनगरबाट खटिएको टोलीले घटनामा संलग्न ३ जनालाई मोटर साईकलमा भाग्दै गरेको अवस्थामा सिमा ईलाका वाट नियन्त्रणमा लिएको सहप्रवत्ता थापाले जानकारी दिए ।
गोली लागेर मनी ट्रान्सफरका सञ्चालक शाह घाइते भएका छन् । शाहको रौतहट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
गोली चलाउने बिहारको मोतीहारीका मनिषकुमार यादव, राजाकुमार सिंह र चन्द्रभान सिंह पक्राउ परेका छन् । उनीहरूको साथबाट एउटा कटुवा पेस्तोलसहित गोली बरामद गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।


