साँकेतिक तस्बिर
काठमाडौं । बालिकाहरुलाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले काठमाडौं गोकर्णेश्वरमा रहेको एक खाजा घरका सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ शिबचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका संचालक उदयपुर बेलका नगरपालिका–५ का ३८ वर्षीय हिरन राई भएको प्रहरीले जानकारी दिएको हो ।
उक्त खाजा घरमा नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न राईलाई पक्राउ गरेको हो । साथै उक्त स्थानबाट नाबालिका सहित २ जनालाई प्रहरीले उद्दार समेत गरेको छ ।
पक्राउ परेका राई उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको जनाएको छ ।



