गोरखा । गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले एकै पटक ९ वटा बिद्युतीय माइक्रो गोरखा भित्राउने तयारी गरेको छ । आइतबार साँझसम्म आउने सबै माइक्रो गोरखा–काठमाडौं सञ्चालनमा आउने अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।
उनका अनुसार सम्झौता अनुसार गोरखा–काठमाडौंको लागि १० वटा माइक्रो आउनु पर्नेमा प्राविधिक कारण १ वटा नआएकोले आइतबार साँझसम्म ९ वटा माइक्रो ल्याउन लागेको हो ।
सकिला मोटर्स प्रालि काठमाडौं डिलरबाट कम्पनीले १० वटा माइक्रो खरिदका लागि सम्झौता गरेको थियो । चालक बाहेक १६ जना यात्रु अटाउन सक्ने हाइगर कम्पनीको उक्त माइक्रो ७० किलोवाटको भएको डिलरका सञ्चालक सन्तोष खत्रीवडाले जानकारी दिए ।
खत्रीवडाले माइक्रो फुल चार्जहुदाँ पहाडी क्षेत्रमा ३०० किलो मिटर र तराई क्षेत्रमा ४०० किलो मिटरभन्दा बढी चल्न सक्ने बताए । कम्पनीले खरिद गरेको माइक्रो चार्ज गर्न तत्कालै २ वटा चार्जिङ स्टेशन राखिने पनि पनि उनले जानकारी दिए ।




















