काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि शाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ ।
त्यसका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा र बाँकी उच्च पहाडी भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


