गोरखा । गोरखाबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले प्रयोग गरेको शब्द संसदीय अखिलेखबाट हटाइएको छ ।
फागुन १८ गते राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा नियमावली २०८० माथिको छलफलमा सांसद सुनारले दलित सम्बन्धी छुट्टै समिति बनाउने प्रस्ताव गरेको तर, अस्वीकृत भएको भन्दै असन्तुष्टि पोख्दै उखान–टुक्का प्रयोग गरेका थिए ।
उनले महिला समन्वय समिति रहँदा दलित सम्बन्धी समिति किन नरहने भन्ने प्रश्न गरेका थिए । दलितको विषयमा छलफल गर्न संसदीय विषयगत समितिको नाम नियमावलीमै राख्न खोज्दा समेत अस्वीकार भएको भन्दै उनले यस्तो कार्यमा कम्युनिस्ट पार्टीका नेताहरु नै लागेको भनी असन्तुष्टि जनाएका थिए ।
नियमावलीमाथिको छलफलमा समेत आफूले भाग लिन नपाएको गुनासो गर्दै साँसद सुनारले सभामै नियमावलीमाथि संशोधन प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव फिर्ता लिने कि नलिने भन्ने क्रममा उनले प्रयोग गरेको वाक्यांश संसदीय रेकर्डबाट हटाइएको हो ।
साँसद सुनारले ‘स्यालको छाला ओढेको ब्वाँसो भन्ने कि के भने जस्तै कम्युनिस्टका नाम बोकेका मान्छेहरुको चरित्र उदांगो भयो’ भन्ने शब्द प्रयोग गरेका थिए ।


