काठमाडौं । माल्दिभ्सको आग्रह संगै भारतले आफ्नो सेना फिर्ता गर्ने भएको छ । भारतले सोमबार माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो खेप स्वदेश फर्काउने तयारी गरेको हो ।
पछिल्लो राजनैतिक घटना क्रमपछी माल्दिभ्स चीनसँग नजिकिएका कारण भारतले आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको बीबीसीले जनाएको छ ।
माल्दिभ्समा करिब ८० जना भारतीय सैनिकहरूलाई हरेका छन् । हालै निर्वाचित माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो देशमा रहेका भारतीय सेनालाई आउँदो मे महिनाभित्र फिर्ता गरिसक्न समयसीमा तोकेको छ ।
भारतले माल्दिभ्सलाई वर्षौँअघि अनुदानमा दिएका उद्धारमा प्रयोग हुने २ वटा हेलिकप्टर र १ सानोे विमानको मर्मत तथा सञ्चालनका लागि आफ्ना सैनिकहरू तैनाथ गरेको बताउदै आउने गरेको छ । माल्दिभ्समा रहेको उक्त सामाग्री अब भारतका गैरसैनिक प्राविधिक कर्मचारीले सञ्चालन गर्ने सहमति भएको पनि बीबीसीले जनाएको छ ।
उता माल्दिभ्स सरकारले चीनसँग सैन्य सहायता सम्झौतामा हस्ताक्षर गरेको समाचारमा उलेल्ख गरिएको छ । चीनले भने माल्दिभ्समा आफ्नो कुनै पनि दीर्घकालीन सैन्य स्वार्थ र योजना नरहेको दाबी गर्दै आएको छ ।


