काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष बनेका रेशमलाल चौधरीलाई अघ्यक्षको मान्यता दिन नमिल्ने भन्दै नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ ।
पुस २७ गते कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका थिए । पार्टीले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा माघ २९ गते निवेदन दिएको थियो ।
निर्वाचन आयोगले बिहीबार निर्णय दिँदै उनलाई पार्टीको अध्यक्ष मान्न अस्वीकार गरेको हो । राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार नाउपाको निर्वाचन आयोगमा यसअघि रहेको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
निर्वाचन आयोगको यो निर्णय संगै अब पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी रहेकी छन् ।




















