काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
उता नेकपा एकीकृत समाजवादी पनि नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्न बैठक बोलाइएको छ ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवासमा गएर गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।
त्यही विषयमा छलफल गर्न एकीकृत समाजवादीले बैठक बोलाएको हो ।
सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहित माअोबादीबाट उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीमा नारायणकाजी श्रेष्ठ, अर्थमन्त्रीमा बर्षमान पुन तथा शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका छन् ।
त्यस्तै गरी नेकपा एमालेबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रीमा रधुवीर महासेठ सहित कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, दोमोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, हरी उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राजेन्द्र राई खानेपानी मन्त्रालय, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी र बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय लिएर सरकारमा जाने छन् ।
उता राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टी सभापति र उपसभाति क्रमश. गृहमन्त्रीमा रबि लामिछाने तथा श्रममन्त्रीमा डिपी अर्याल सहित युवा तथा खेलकुदमन्त्रीमा बिराजभक्त श्रेष्ठ र शिक्षामन्त्रीमा सुमना श्रेष्ठ सहभागी हुने छन् ।





