काठमाडौं । केन्द्रिय राजनीतिमा देखिएको परिवर्तन संगै प्रदेशमा बर्खास्तीदेखी राजिनामाको लहर चल्न थालेको छ । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा दिदा सुदूरपश्चिम प्रदेशमा माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरिएको छ ।
कर्णाली प्रदेशमा कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको हो । कर्णाली सरकारमा कांग्रेसबाट खड्गबहादुर पोखरेल, कृष्णकुमार बीसी र बेदराज सिंह मन्त्री थिए ।
यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई बर्खास्त गरेका छन् । केन्द्रमा बनेको नयाँ गठबन्धनपछि प्रदेशका माओवादीका २ मन्त्री र १ राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरे । मुख्यमन्त्री शाह नेपाली कांग्रेसका हुन् ।
सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री शाहले हटाएको हो ।
यसअघि गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माओवादीका २ जना मन्त्रीलाई हटाइ सकेका छन् ।




















