गोरखा । गोरखाको भालुस्वाराँमा हिजो राती भएको मोटरसाईकल दुर्घटनामा परी १ जना युवकको ज्यान गएको छ भने चालक फरार रहेका छन् । फरार चालक गोरखा नगरपालिका-३ नारेश्वर बस्ने बर्ष ३० को राजेश परियार भएको खुलेको र प्रहरीले उनको ब्यापक खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्ष बासुदेव पाठकले बताए ।
शनिबार राती ९ः३० बजेको समयमा सिरानचोक गाउँपालिका–७ को भालुस्वाराँमा बां ९१ प ४५८ नम्बरको मोटर साईकल अनियन्त्रित भएर दुर्घटना हुदा मोटर साईकलमा सवार सिरानचोक गाउँपालिका–६ नयाँसाँघु बस्ने २७ बर्षका मिलन थापा मगरको ज्यान गएको हो । दुर्घटना लगत्तै उपचारका लागि गोरखा अस्पताल ल्याईएका मिलनको उपचारको क्रममा राती १० बजे ज्यान गएको हो ।
घटना लगत्तै चालक भने फरार रहेको प्रउ पाठनले जानकारी दिए । उनका अनुसार चालकको पहिचान खुली सकेकोले ब्यापक रुपमा खोजी कार्य भई रहेको छ ।
मृत्तक थापा केही दिनमा नै बैदेशिक रोजगारीका लागि जाने तयारी रहेको उनको परिवारले जानकारी दिएको छ । मृत्तकको बुवा भने नयाँ साँघुमा रहेको संसारी महेन्द्र माविका कार्यालय सहयोगी रहेको बिद्यालयका प्रअले जानकारी दिए ।
मृत्तकका परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको छ । शवको भने पोष्टमार्टम पछी परिवारको जिम्मा लगाउने तयारी भएको प्रहरी निरिक्षक एवं सूचना अधिकारी शेखर खड्काले जानकारी दिए ।



