काठमाडौं । आज बिहानैदेखी देशको मौसम बदली भएको छ । गण्डकी, कर्णाली, लुम्बिनी, र बाग्मती प्रदेशको केही ठाउँमा अहिले पानी परिरहेको छ ।
पश्चिमी वायु सक्रिय रहेकोले पश्चिम नेपालमा पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परेको हो ।
बितेको २४ घण्टामा गण्डकी प्रदेशभन्दा पश्चिमतर्फ धेरैजसो ठाउँमा पानी परेको छ । पछिल्लो २४ घण्टामा डडेल्धुरा, सुर्खेत लगायतका केही ठाउँमा ३० मिलिमिटरभन्दा धेरै पानी परेको छ महाशाखाले जानकारी दिएको छ ।
मनाङ, बैतडी, दैलेख, कालिकोट लगायतका जिल्लामा पनि २० मिलिमिटर भन्दा धेरै पानी परेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर नै बदली भएर सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले बुलेटिन मार्फत जनाएको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो ठाउँमा हिमपातको सम्भावना छ । आज र भोलि पहाडी भू–भागमा चट्याङ तथा हिमाली क्षेत्रका केही ठाउँमा बाक्लो हिमपात हुन सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले भोलिदेखि मौसम सुधार हुन जनाएको छ ।


