पोखरा । पोखराको सेती नदीमा माछा मार्न जाने क्रममा सम्पर्कविहीन भएका ४५ वर्षका मानबहादुर लामा तामाङ आज मृत भेटिएका छन् ।
फागुन १३ गते साँझबाट सम्पर्कविहीन रहेका उनको शुक्रबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाका अनुसार तामाङको शव पोखरा महानगरपालिका–१५ को पट्नेरी क्षेत्रको सेती नदीमा ढुंगामा अड्किएको अवस्थामा भेटिएको हो ।
माछा मार्न गएका अर्का पोखरा महानगरपालिका–१ कस्केरीका ४० वर्षीय मंगा तामाङ फागुन १३ गते राती नै मृत शरिर फेला परेको थियो ।
माछा मार्ने क्रममा सम्पर्कविहीन बनेका तामाङको खोजीमा सुरुमा सशस्त्र प्रहरीको गोताखोर खटिएको थियो । तर गोताखोरले पनि पत्ता लगाउन नसकेपछि बिहीबार बिहान सेती नदीके बाँध खोलेर खोजिए सुरु गरिएको थियो ।
सेती नदीमा सँगै माछा मार्न गएका अन्य ३ जनाको भने सोही दिन सकुशल उद्धार गरिएको थियो ।


