बिमा गरेबापत आएकाे रकम हस्तान्तरण गर्दै अघ्यक्ष बन्जारा
गोरखा । भीमसेन थापा गाउँपालिकाले दुर्घटनामा परेका आफ्ना नागरिकहरुलाई दुर्घटना बीमा मार्फत उपचार वापतको रकम भुक्तानी सुरु गरेको छ ।
पालिका भित्रका सवै नागरिकहरुको निःशुल्क रुपमा सामुहिक दुर्घटना बीमा गरिदिएको गाउँपालिकाले कार्यक्रम लागू भएपछि दुर्घटनामा परेका २ जनालाई बीमा पोलिसी अनुसार उपचारका क्रममा खर्च भएको रकम बीमा मार्फत भुक्तानी गरि पिडितलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
‘‘खाटमा सुतेका बेला लडेर घाइते भएका बोर्लाङका डिल्लीराम रेग्मी र धान कुट्ने मिलले औँला काटेर घाइते हुनुभएकी कल्पना श्रेष्ठलाई वडामै पुगेर उपचार खर्च बापतको रकम उपलब्ध गराइएको हो, उनले भने, ‘‘पालिकाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसंग गरेको सम्झौता अनुसार दुर्घटनामा परेका नागरिकहरुले उपचार खर्च पाएका छन् ।’’
गएको असार ३१ गते खाटबाट लडेर घाइते भएका रेग्मीले उपचारका लागि खर्च भएको ९ हजार ५७० रुपैँया र कात्तिक २ गते मिलमा परेर हात काटीएकी श्रेष्ठले उपचारमा भएको खर्च ३ हजार ३२५ रुपैँया बीमा मार्फत प्राप्त गरेको हो ।
राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सवै नागरिकहरुको सामुहिक दुर्घटना बीमा गरेको अध्यक्ष बन्जराले जानकारी दिए ।
भीमसेन थापा गाउँपालिका स्थायी घर भई नेपालभर छरिएर बसेका नागरिक कुनैपनि प्रकारको दुर्घटना परे उपचार बीमा पोलिसी अनुसारको खर्च र ज्यान गुमाएमा सम्बन्धित व्यक्तिका परिवारले ५० हजार रुपैया पाउने गरी पालिकाले आफ्ना नागरिकलाई निःशुल्क दुर्घटना बीमा गरिदिएको पालिकाले जनाएको छ ।
कम्पनीसंगको सम्झौता अनुसार दुर्घटनामा परेका दुवैजना बिमितले पोलिसीको अधिनमा रही सक्कली बिल बुझाएपछि बीमा कम्पनीले गाउँपालिकालाई बीमा रकम उपलब्ध गराएको र गाउँपालिकाले बिमितलाई हस्तान्तरण गरेको बिमा कम्पनीका फोकल पर्सन जीवन सुर्खेतीले बताए ।
गाउँपालिकाले पालिका भित्रका १६ हजार ९८६ जना नागरिकहरुको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ ।



