गोरखा । कोरोना महामारी संगै बन्द भएको उत्तरी गोरखाको २ वटा नाका खुलाउन कुटनीतिक प्रयास गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहमत भएका छन् । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा सहितको टोलीले नाका खुलाउन माग गरेका कारण गृहमन्त्री श्रेष्ठले कुटनीतिक प्रयास गर्ने बताएको अध्यक्ष लामाले बताए ।
कोरोना महामारीभन्दा पहिला छेकम्पार पट्टीको ङुईला नाका सधै खुल्ला हुने गरेको र सामागाउँ पट्टीको नाका रुइला नाका बर्षमा १५ देखी २० दिनसम्म खुल्ने गरेको अध्यक्ष लामाले बताए । ‘दुई वटा नाकामध्ये छेकम्पारको नाका सधै खुल्ला जस्तै थियो’ उनले भने ‘सामागाउँ नाका बर्षमा केही दिन खुल्ने गरेको भएता पनि कोरोना पछी अहिलेसम्म बन्द छ ।’
अध्यक्ष लामा सहितको टोलीले गृहमन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाउदै दैनिक उपभोग्य बस्तु प्रयोग समस्या आएको भन्दै चाढोभन्दा चाढो नाका खुल्ला गर्न चीन सरकार संग आग्रह गरिदिन भनेको छ । सोही बिषयलाई लिएर फागुन ६ गते पनि जनप्रतिनिधीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटेर ज्ञापन पत्र बुझाउदै दुवै नाका खोल्न सहयोग गरिदिन भनेको थियो ।
उक्त नाका खुल्ला हुदा साविकको छेकमपार, चुम्चेत, सिर्दीबास, बिही, प्रोक, ल्हो र सामागाउँका सर्व साधारणलाई दैनिक उपभोग्य बस्तु आयातमा सहजता र सस्तो पर्ने गर्दछ । गोरखाको आरुघाटदेखी सामान ढुवानी गर्दा भाडादर उच्च हुने भएका कारण त्यहाँका सर्व साधारणले ति दुई नाकाबाट सामान खरिद गर्ने गद्थे ।
ङुईला र रुइला नाका भएर तेल, चामल, दाल, मैदा, बिस्कुट, ध्यु, नुन, मासु तथा लत्ता कपडाहरु आयात हुने गर्दछ । ५ बर्षदेखी नाका बन्द हुदा महगोंमा आरुघाट बजारदेखी सामान ढुवानी गनुपरेको अध्यक्ष लामाले बताए ।
जनप्रतिनिधीहरुले गृहमन्त्रीलाई सम्बेदनशिल मानिने मनास्लु निषेधित क्षेत्र खुला गरिदिन, सिमा नाका कुटनीतिक मध्यामबाट खुल्ला गर्न, सिमा सुरक्षा क्याम्प स्थपना गर्न र चुम्चेत र बिहीमा प्रहरी चौकी स्थपना गर्न गरेको अनुरोधलाई मन्त्री श्रेष्ठले सकारात्मक रुपमा लिएर ति माग पुरा गर्ने प्रतिबद्धता ब्यत्त गरेको पनि अध्यक्ष लामा जानकारी दिए ।



