गोरखा । राष्ट्रिय अभियानका रुपमा सुरु गर्न लागिएको दादुरा रुबेलाको खोप कार्यक्रम अन्तरर्गत गोरखामा करिब १७ हजार जना बालबालिकालाई दिइने भएको छ । ९ महिना उमेर पूरा गरी ५ वर्षभित्रका सबै बालबालिकालाई तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र खोप दिने योजना रहेको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।
यही फागुन १६ देखि २२ गतेसम्म सबै स्वास्थ्य संस्था र खोप केन्द्रमा खोप अभियान सञ्चालन हुने कार्यालयका जनस्वास्थ्य निरिक्षक नानीबावु दानीले जानकारी दिए । उनका अनुसार जिल्ला भित्र ९ महिना उमेर पूरा गरी ५ वर्षभित्रका १६ हजार ६०९ जना बालबालिकालाई खोप लगाईने छ ।
बेलाबेलामा नेपालमा दादुराको महामारी फैलिने गरेकाले यस प्रकारको खोप अभियान अझै प्रभावकारी ढङ्गले गर्नुपर्ने टड्कारो आवश्यकता छ । त्यसैले समुदायमा रहेका लक्षित समूहको कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुन् भनी बढी सजगता अपनाइएको छ कार्यालयले जनाएको छ ।
उक्त कार्यक्रमका लागि जिल्लामा २६५ जना स्वास्थ्यकर्मीहरु परिचालित हुने छन् । १४५ वटा भन्दा बढी स्वास्थ्य संस्थाबाट बालबालिकालाई खोप सेवा प्रदान गर्न लागिएको अधिकृत दानीले जानकारी दिए ।
जिल्लामा आवश्यक पर्ने सबै खोप आईसकेकाले भोली शनिबारदेखी बितरण गर्न सुरु गरीने पनि उनले बताए । ‘खोपमा कुनै पनि शङ्का छैन । सुरक्षित र अत्यन्त प्रभावकारी समेत छ ।’ अधिकृत दानीले भने “खोपपछि कसैलाई सामान्य ज्वरो आउन सक्ने भए पनि पछि त्यो आफैँ हराएर जान्छ ।”
दादुरा तथा रुबेला दुवै रोग अत्यन्त सङ्क्रामक रहेको र बालबालिकालाई यी रोगले बढी सङ्क्रमण गर्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । सरकारले सन् २०२६ सम्म नेपालबाट दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य राखेको छ ।
नेपालमा ४५ वर्षदेखि दादुराको खोप र पछिल्लो १० बर्षभन्दा बढी समयदेखि रुबेलासमेतको गरी संयुक्त रुपमा १६ हजारभन्दा बढी खोप केन्द्रबाट प्रदान गर्ने गरिएको छ ।
सन् २००४ देखि हालसम्म हरेक ४–४ वर्षमा अभियानका रुपमा पनि यो खोप लगाइदै आइरहे पनि बेला बेलामा महामारी फैलिने गरेको छ ।


