गोरखा । नेपाल प्रहरी गण्डकी प्रदेशका प्रहरी नायब महानिरिक्षक बिकासराज खनालले अबको प्रहरीले नागरिकको अपेक्षा अनुसारको सेवा दिनुपर्ने कुरा बताएका छन् । प्रदेश प्रमुख भएपछी पहिलो पटक गोरखा आएका उनले जिल्ला प्रहरी कार्यालयको निरिक्षण पछी सञ्चारकर्मीहरु संग उक्त कुरा बताएका हुन् ।
‘संगठनको उद्वेश्य, लक्ष्य र नीति अनुसार भोलीका दिनमा नागरिकले अपेक्षा गरे बमोजिम सेवा दिनुपर्ने चुनौती थपिएको छ’ भन्दै उनले भने ‘सिमित स्रोत, साधन र जनशत्ति कमी भएपनि हामीले कसरी उच्चतम प्रयोग गरेर नागरिकको अपेक्षा बमोजिम सेवा दिनु पर्ने छ ।’
उनले निरिक्षणका क्रममा प्रहरी युनिटहरुले कसरी सेवा दिईरहेका छन्, कार्य सम्पादन, सुरक्षा, भुगोल, समस्या र अझै कसरी प्रभावकारी रुपमा शान्ति सुरक्षा गर्ने भन्ने बारेमा सुझाव लिएको र कमजोरी देखिएको ठाउँमा सुधारका लागि सुझाव दिने गरेको पनि बताए ।
सञ्चारकर्मीहरुको प्रश्नको उत्तर दिदै महानिरिक्षक खनालले समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्था राम्रो रहेको बताए । उनले अहिलेको सुरक्षा चुनौती भनेको सवारी दुर्घटना न्यनिकरण कसरी गर्न सकिन्छ ? लागु औषध तथा साईबर अपराध तथा ठगीका कुराको चुनौती भएको भन्दै ठगीमा पनि पछिल्लाे पटक सहकारीका ठगीका घटना बढेको बताए ।
प्रदेशभरी नै ठुलो साँगठनिक अपराध नदेखिएको भन्दै महानिरिक्षक खनालले मादक पदार्थ सेवनका कारण आपसी झै झगडा, घरेलुु हिंसा बढ्दै गएकोमा चिन्ता ब्यत्त गर्दै लक्षित बर्गसम्म सचेतना मार्फत बारेमा अध्ययनभई रहेको पनि बताए ।
महानिरिक्षक खनालले दरबन्दी अनुसार प्रहरी कर्मचारी नभएको बारेमा प्रश्न गर्दा उनले समग्र प्रदेशभरी नै करिब १ हजार प्रहरी कर्मचारी खाली रहेको जानकारी दिदै अब भर्ना हुने कर्मचारीहरुले ति स्थानको पूर्ती हुने विश्वास ब्यत्त गरे ।


