काठमाडौं । देशैभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा बदली हुनुका साथै छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको बुलेटिन अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहने छ । आजदेखि मौसम क्रमिकरूपमा सुधार हुने पनि महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रही बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने र देशका बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा छिटफुटदेखि वर्षाको सम्भावना छ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।


