काठमाडौं । बङ्गुरहरुमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगबाट यो बर्ष नेपालमा ३ लाख बंगुरहरु मर्न सक्ने अनुमान गरिएको छ । जसबाट १५ अर्ब रुपैयाँभन्दा धेरैको क्षति पुग्ने सरकार अनुमान रहेको छ ।
नेपाल पशु चिकित्सा परिषद्ले मंगलबार रोग रोकथामका लागि परामर्श जारी गर्दै यो रोगको समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेमा ३ लाख ६१ हजार वटा बङ्गुर मर्न सक्ने जनाएको हो । यसबाट १५ अर्ब १६ करोड ४९ लाख रुपैयाँ बराबरको आर्थिक क्षति हुने अनुमान परिषद्ले गरेको छ ।
विश्व पशु स्वास्थ्य सङ्गठनले दिएको वैज्ञानिक तथ्य र नेपालमा यसले पारेको प्रभावलाई आधार मान्दा समयमै रोग नियन्त्रण गरिएन भने यस रोगबाट ४० प्रतिशत बङ्गुर थप सङ्क्रमित हुने र सङ्क्रमित पशुमध्ये ६६.६ प्रतिशत मर्ने अनुमान गरिएको छ ।
रोगको उपचार, रोकथाम तथा नियन्त्रण गर्नका लागि आवश्यक पर्ने महत्त्वपूर्ण जनशक्ति पालिकामा रहेको पशु चिकित्सकहरूको दरबन्दी ६० प्रतिशत रिक्त रहेको र धेरै पालिकाका वडामा पशु स्वास्थ्य प्राविधिकहरूको उपस्थिति न्यून रहेको भन्दै परिषद्ले चिन्ता जनाएको छ ।
सङ्घ, प्रदेश र पालिकाबीचको कमजोर समन्वय र सहकार्यका कारण रोग देखिएको लामो समयपछि थाहा हुने गरेको र सङ्क्रमण तीव्र गतिमा फैलिई एकदमै छिटो महामारीको रूप लिइरहेको परिषद्ले जनाएको छ । यस्ता पशुका महामारी रोक्न तत्काल कानुन निर्माणदेखि भेटेरिनरी सेवाको आमूल पुनर्संरचना गरी अस्पताल र जनशक्ति थपेर सघन रूपले रोग नियन्त्रणमा जुट्न अत्यावश्यक देखिएको परिषद्ले जनाएको छ ।
अफ्रिकन स्वाइन फिभरबाट बङ्गुरलाई बचाउनका लागि परिषद्ले नेपाल सरकार, प्रदेश सरकार र पालिकालाई तत्कालीन, मध्यमकालीन र दीर्घकालीन परामर्श समेत दिएको छ ।




















