गोरखा । गोरखा सदरमुकाको खेलकुद मैदानमा जारी मिस्टर बि ८औं गोरखकाली रनिङ कप फुटबल प्रतियोगिताको आज तेस्रो दिन भएको दोस्रो खेलमा चाइनिज धारा फेमिलीका खेलाडी रोशन क्षेत्रीको ह्याट्रीक संगै आरुघाट गाउँपालिकालाई ६–१ को फराकिलो अन्तरले जित हात पारेको छ ।
खेलको ४ मिनेटमा नै आरुघाट गाउँपालिकाको तर्फबाट राजकुमार घलेले १ गोल गरेको भएता पनि त्यस पछीको खेल अवधीमा चाईनिज धाराको दवदवा रहयो । पहिलो हाफमा नै चाइनिज धाराले आरुघाट गाउँपालिकालाई ३–१ को चुनौती दिएको थियो ।
दोस्रो हाफको खेल सुरु भएदेखी बल आफ्नो पक्षमा राखेको चाइनिज धाराले रोशन क्षेत्रीको सहयोगमा पुनः ३ गोल गर्न सफल भएको थियो । चाइनिज धाराको तर्फबाट खेल अवधीभरमा रोशन क्षेत्रीले ३५, ५१ र ५७ मिनेटमा ३ गोल र ३३ र ३४ मिनेटमा विक्की चामलिङले २ गोल गर्न सफल भए भने ४५ मिनेटमा अमित तामाङले १ गोल गरेका थिए ।
जित संगै अब चाइनिज धाराले १० गते खोप्लाङ एफसी संग खेल्ने भएको छ । खोप्लाङ बाईमा परेको टिम हो ।
आज भएको पहिलो खेलमा याङकोट युवा क्लबका गोल किप्पर मनोज गुरुङ र दोस्रो खेलमा चाइनिज धाराका रोशन क्षेत्री म्यान अफ दि म्याच घोषित भएका छन् ।
भोलीको पहिलो खेल दिउसो १ बजे दौतरी युवा क्लब चित्रेपोखरी र अल स्टार आँबुखैरेनी तथा दोस्रो खेल ३ बजे भिमसेनतारा युवा क्लब र पृथ्वी युवा क्लब बिच हुने छ ।



