काठमाडौं । नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ । विसं २०७८ मङ्सिर २४ गते काठमाडौंमा सम्पन्न भएको १४औँ राष्ट्रिय महाधिवेशनको २ वर्ष ३ महिनापछि ‘नीति अधिवेशनका रुपमा महासमिति बैठक ढाकिएको हो ।
बैठक सहभागी हुन देशभरबाट महासमिति सदस्य काठमाडौं आइपुगेका छन् । ललितपुरको गोदावरीस्थित सनराईज हलमा आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
‘राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता ! स्वतन्त्रता, न्याय र समानता !! नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको महासमिति बैठकमा देशभरबाट २ हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता जनाउदैछ ।
महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य १ हजार ७८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जनाको सहभागिता हुँदैछ ।
गोदावरीमा हुने बैठक ४ दिनसम्म चल्ने छ ।


