गोरखा । जिल्लाको घुन्चोक भन्ने स्थानमा स्थानिय १२ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ६० बर्षका १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ घुन्चोक निवासी ६० बर्षका बुद्विमान बिक भएको प्रहरीले पुष्टी गरेको हो ।
आरोपित बुद्विमानले स्थानिय १२ बर्षिया ‘भ कुमारी’ (नाम परिवर्तन)लाई फागुन २ गते राती २ बजेको समयमा बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका ब्यत्तीले रातको समयमा डर, त्रास देखाई जबरजस्ती करणी गरेको भन्दै पिडितका वुवाले प्रहरीमा जाहेरी दिए लगत्तै फागुन ४ गते शुक्रबार पक्राउ गरीएको हो ।
पक्राउ परेका आरोपितलाई प्रहरीले जबरजस्ती करणी शिर्षक मुद्वा दर्ता गरी फागुन ६ गते आइतबार गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।
घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


