गोरखा । उत्तरी गोरखाको विभिन्न योजनामा सहयोग गरीदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुमनुब्री गाउँपालिकाले ज्ञापन पत्र बुझाएको छ । पालिका प्रमुख निमा लामा सहितको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर ज्ञापन पत्र बुझाएको हो ।
प्रधानमन्त्री दाहाललाई बुझाएको ज्ञापन पत्रमा भौगोलिक हिसाबले गोरखा जिल्लाको ३६ प्रतिशत भूभाग ओगटेको उक्त पालिकामा सर्वसाधारणको सर्वसुलभ पहुँचको लागि पालिका केन्द्रसम्म पनि सडक निर्माण हुन नसेको र बिकास निर्माण कार्यमा ढुवानीको कारणले लागत बढ्न गएको उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा ‘गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुब्री गाउँपालिका भौगोलिक बनावटको हिसाबले कठिन भुगोल, क्षेत्रफल गोखराका जिल्लाको ३६ प्रतिशत भुभाग ओगटेको हिमाली क्षेत्रमा अवस्थित गाउँपालिका हो । खासगरी यातायातको सर्वसुलभ पहुँच नपुगेको र गाउँपालिका केन्द्र जोड्ने सडक समेत निर्माण नभएको र विकास निर्माणका कार्यमा ढुवानीको कारणले गर्दा अत्याधिक लागत लाग्ने र संघ तथा प्रदेशबाट प्राप्त हुने अनुदान तथा बजेटरी कार्यक्रमहरु पनि जनसंख्याको आधारमा प्राप्त हुने हुनाले एकतर्फ बजेट तथा अनुदानको आकार सानो हुने र अर्को तर्फ अत्याधिक लागतले गर्दा अनिवार्य दायित्वका विकास निर्माणका कार्यहरु समेत गर्न बजेटको अभाव रहेको’ भन्दै ‘संघिय सरकारसंग विविध योजना, कार्यक्रम तथा नीतिगत ब्यवस्था गर्न’ भनिएको छ ।
पालिकाको तर्फबाट संघिय सरकार संग सिर्दिबास, न्याकफेदी, चुम्चेत हुदै छेकम्पार डुईला भञ्ज्याङ मोटरबाटो निर्माण योजनालाई अगाडी बढाउन नेपाली सेनालाई जिम्मा दिन आग्रह गरिएको छ भने बेनीघाट–आरुघाट–आरखेत–रुइला भञ्ज्याङको मोटरबाटोलाई क्रमागत बजेटमा प्रार्थमिकता दिन आग्रह गरिएको छ ।
पालिकाको प्रशासकीय भवन नभएको भन्दै आवश्यक बजेटको ब्यवस्था गर्न, चुमनुब्री गाउँपालिका–१ को सामागाउँ र २ को ल्हो स्यालामा रहेको अब्यवस्थित बसोबासीलाई जग्गा बितरण गर्न मनास्लु संरक्षण क्षेत्र पर्ने भएका कारण बन ऐन संशोधन गरी आवश्यक कानूनी ब्यवस्था गर्न तथा चीनसंग सिमा जोडिएको छेकम्पारको डुईला मञ्ज्याङ र सामागाउँको रुईला भञ्ज्याङ नाका खुल्ला गर्न आवश्यक कुटनीतिक पहल गरिदिन समेत आग्रह गरिएको छ ।
अध्यक्ष लामाले प्रधानमन्त्री दाहाललाई बुझाएको ज्ञापन पत्रमा पहिरोको जोखिममा रहेको देवलका ७६ र लोक्पाका २५ घरधुरीलाई बस्ती स्थानान्तरण गरिदिन, पालिकाको केन्द्र जोडने गरी बुढी गण्डकी नदीमाथी मोटरेवल पुलको ब्यवस्था गरिदिन, छेकम्पारको छुलेनिले, चुम्चेत, जगत, ल्हो र सामागाउँमा सञ्चार सम्र्पककालागि असहज भएको भन्दै फोजी सहितको टावर निर्माणकालागि पहल गरिदिन आग्रह गरिएको छ ।
त्यस बाहेक पनि पालिकाले प्रधानमन्त्री दाहाललाई हिमाली आवसिय छात्रावासको कोटा थप गर्न, जडिबुटी भण्डार तथा प्रशोधन केन्द्र स्थापना गरिदिन, हालको मनास्लु पदमार्ग परिवर्तन गरी आँगासस्र्यु–लोक्पा–सिपचेत–धुम्जे–गुम्बालोङडाङ हुदै गणेश हिमाल बेश क्याम्प हुदै गाला–छेकम्पार पादमार्ग कायम गरिदिन, समग्र गाउँपालिकालाई विशेष क्षेत्र घोषणा गरिदिन समेत आग्रह गरिएको छ ।



