कपिलवस्तु । कपिलवस्तुको सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । ज्यान गुमाउने मघ्ये ३ जनाको मात्र पहिचान खुलेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।
शिवराज नगरपालिका–१ सुरही पुल नजिकै महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सुदुर पश्चिम प्रदेश–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको थियो ।
सोही बस दुर्घटनामा परी १० जनाको ज्यान गएको भएता पनि ३ जनाको मात्र पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीले बताए । सनाखत भएकाहरुमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।
सोही दुर्घटनामा परी अन्य ३० जना घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ । घाईते मध्ये अहिले ९ जनालाई उपचारकोलागि बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




















