पाल्पा । पाल्पामा हिजो भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ । तानसेन नगरपालिका डुम्रेबाट गएको जिप तिनाउँ गाउँपालिकाको चिदिसामा हिजो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा परी अन्य १६ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।
दुर्घटनामा परी तिनाउँ गाउँपालिका–६ मस्यामका यनकुमारी पन्त, रामबहादुर अस्लामी, कृष्णबहादुर अस्लामी र उर्मिला अस्लामी रहेका छन् ।
दुर्घटनामा बुटवल उपमहानगरपालिका–१४ तामनगर रुपन्देहीका चन्द्र रणपाल र चुना रणपाल, तिनाउँ गाउँपालिका–२ खुर्सानेकी गिता सुनार, देबदह नगरपालिका–५ रुपन्देहीकी दिलमाया जिसि, रिब्दीकोट–१ ख्याहाका दिलकुमारी सुनार र बिष्णुकला कामीको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भैरहेको छ । तानसेन बुटवल सडक खण्डमा पर्ने सिद्धार्थराजमार्गको डुम्रेबाट तिनाउ गाउँपालिकाको भित्री कच्ची सडक चिदिसका लागि छुटेको लु १ ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो ।
चालक तानसेन नगरपालिका १० का दानबहादुर चिदिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।


