काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा अनियमितता प्रकरणमा अरुणकुमार चौधरीलगायतलाई हाजिरी जमानतमा छाड्न आदेश गर्ने जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्य मुगु सरुवा गरिएको छ ।
२ दिनभित्रमा अनुसन्धान पूरा व्यवसायी चौधरीलगायतलाई हाजिरी जमानतमा छाड्न आदेश गर्ने न्यायाधीश आचार्य मुगु सरुवा भएको हो ।
प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई आज मुगु जिल्ला अदालत काज सरुवा गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
न्यायाधीश आचार्यको इजलासले गत आइतबार “अभियुक्तहरूमाथि अनुसन्धान गर्न २५ दिनको म्याद माग गरिएकामा त्यसो गर्नुपर्ने अवस्था नदेखिएको र थप बुझ्नुपर्ने भए २ दिनभित्र बाँकी काम सम्पन्न गर्नू” भन्ने आदेश गरेपछि माघ २४ गते चौधरीलगायतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिरासतबाट मुक्त गरी हाजिर जमानीमा छाडेका थिए ।
“हजारौँ नागरिकलाई रोजगारी प्रदान गरी अभिभावकको रुपमा रही आएको देखिँदा जिल्ला सरकारी वकिल कार्यालयवाट म्याद थप गर्न माग गर्दा आधार लिएका विषयवस्तुमा यी प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको”, आदेशमा भनिएको थियो ।
अदालतको आदेशपछि चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायणसिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हाजिर जमानीमा थुनामुक्त भएका थिए ।



