काठमाडौं । क्यानडासँगको आज भएको तेस्रो एकदिवसीय क्रिकेट पनि नेपालले जितेको छ । आजको खेल ९ विकेटले जितेसँगै ३ खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको छ ।
आज क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ बलमा जम्मा १ विकेट गुमाएर भेटाएको थियो ।
नेपालका अनिल साह र भीम सार्कीले शतक बनाउन सफल भए । दुवै खेलाडीको यो पहिलो शतक हो । अनिल साहले आफ्नो दोस्रो खेलमै शतक प्रहार गरेका हुन् । अनिल ११२ रनमा नटआउट रहे ।
यस्तै, भीम १०१ रनमा नटआउट रहे । अनिलले दोस्रो खेलमा पनि अर्धशतक बनाएका थिए । एउटै खेलमा नेपालका २ जना खेलाडीले शतक बनाएको यो नै पहिलो पटक हो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ८ विकेट गुमाएर २३२ रन बनाएको थियो । उसका नभ्नीत धलिवालले ५०, निखिल दत्तले ४५ र साद बिन जफरले ३१ रन बनाएका थिए ।
बलिङतर्फ नेपालका हेमन्त धामीले ३ विकेट लिए । हेमन्तले आज मात्रै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् ।
कुशल मल्लले २ तथा ललित राजवंशी र आकास चन्दले समान १–१ विकेट लिन सफल भए । ३ खेलको शृङ्खला नेपालले यसअघि नै जितिसकेको छ ।
यो शृङ्खला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलत त्रिकोणात्मक लिग टु शृङ्खला खेल्नेछ ।
उक्त खेल यही फागुन ३ देखि १३ गतेसम्म कीर्तिपुरमा हुनेछ । नेपालले फागुन ३ र ७ गते नामिबिया तथा फागुन ५ र १३ गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।



