एजेन्सी । पाकिस्तानको चुनावमा पूर्व प्रधानमन्त्री इमरान खानका समर्थकहरू पहिलो स्थानमा आएका छन् । उनीहरुले हालै सम्पन्न आम चुनावमा १०१ स्थान हात पार्न सफल भए ।
चुनावपछि पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग–नवाज ,पीएमएलएन र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी ,पीपीपीले देशमा राजनीतिक स्थिरता ल्याउन मिलेर काम गर्ने योजना बनाएको बीबीसीले जनाएको छ ।
पूर्व प्रधानमन्त्री खानको पीटीआई पार्टीलाई चुनावमा भाग लिनबाट रोक लगाइएपछि उनका समर्थकहरुले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पाकिस्तानको निर्वाचन आयोगले चुनावको पूर्ण परिणाम घोषणा गरिसकेको छ ।
राष्ट्रिय सभाको संसद्को तल्लो सदनका लागि भएको चुनावको परिणामअनुसार स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट प्राप्त गरेका छन् । पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टीले ७५ सिट प्राप्त गरेको छ भने पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीको पार्टीले ५४ सिट प्राप्त गरेको छ ।
यस्तै, मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तानले १७ सिट, जमियत उलामा–ए–इस्लाम पाकिस्तानले ४ सिट, पाकिस्तान मुस्लिम लिगले ३ सिट, इस्तेहकाम–ए–पाकिस्तान पार्टी र बलुचिस्तान नेशनल पार्टीले समान २–२ सिटमा जितेका छन् ।
ई–मुस्लिमिन पाकिस्तान, पाकिस्तान मुस्लिम लिग ९जिया–उल–हक शहीद०, पश्तुनख्वा नेशनल अवामी पार्टी पाकिस्तान, बलुचिस्तान अवामी पार्टी, पश्तुनख्वा मिलि अवामी पार्टी र नेशनल पार्टीले समान १–१ सिटमा जित हात पारेको छ ।




















