गोरखा । फागुन १ गते गोरखामा बिभिन्न कार्यक्रम गरी २९औं जनयुद्ध दिवस मनाइने तयारी भईरहेको छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी २०५२ साल फागुन १ गतेका दिन गणतन्त्र र नयाँ जनवादी राज्यसत्ताको लक्ष्य सहित जनयुद्धको घोषण गरेको दिनलाई नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवसको रुपमा मनाउदै आएको छ ।
माओवादीले रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो ।
दिवसको अवसरमा योङ कम्युनिष्ट लिग (वाइसिएल) गोरखा र अखिल क्रान्तिकारी गोरखाले रक्तदान र दीप प्रज्वलन लगाएका कार्यक्रम गर्न लागेको वाइसिएल गोरखाका जिल्ला संयोजक सागर श्रेष्ठले जानकारी दिए । सदरमुकाम स्थित हरमटारी चोकमा रक्तदान कार्यक्रम गर्न लागिएको उनले बताए ।
भोली साँझ नै सदरमुकाममा दीप प्रज्वलनको कार्यक्रम राखिएको संयोजक श्रेष्ठले जानकारी दिए । जनयुद्ध दिवसको अवसरमा जिल्ला भित्रका सवै पालिका र वडाहरुमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको नेकपा माओवादी केन्द्र गोरखाका जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिए । स्थानीय स्तरमा सापेक्षित रुपमा कार्यक्रम गर्ने तयारी पालिका र वडाहरुमा रहेको उनको भनाई छ ।
माओवादी सञ्चालन गरेको १० बर्षे जनयुद्धको जगमा नेपालमा २३४ बर्ष लामो राजतन्त्रको अन्य भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको हो । विस २०६३ साल मङ्सिर ५ गते तत्कालिन नेकपा माओवादी र तत्कालिन सरकार बिच शान्ति सम्झौतामा हस्ताक्षर भएपनि जनयुद्धको समाप्त भएको थियो ।
शान्ति सम्झौतामा विद्रोहीको पक्षको तर्फबाट पार्टी अध्यक्ष पुष्षकमल दाहाल (प्रचण्ड) र तत्कालिन सरकारको तर्फबाट तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए ।



