गोरखा । गोरखाको ३ वटा स्थानिय तहले भोली हुने ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जिल्लाको अजिरकोट, गण्डकी र भीमसेन थापा गाउँपालिकाले ‘जनयुद्ध दिवस’ को अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
अजिरकोट गाउँपालिकाको आइतवार बसेको गाउँ कार्यपालिकाको ११२ औं बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।
बैठकपछि एक सूचना जारी गरी गाउँपालिकाले सार्वजनिक विदाको घोषणा गरेको छ । विदाका दिन गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बन्द रहने जारी सूचनामा उल्लेख छ ।
उता गण्डकी गाउँपालिकाले पनि सार्वजनिक सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा पालिका भित्र सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना (साकार) द्धारा हस्ताक्षरीत सूचनामा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका गर्न २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको सम्मान र स्मरणका लागि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।
सार्वजनिक विदाका दिन गाउँपालिका कार्यालय र गाउँपालिका मातहतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
यता भीमसेन थापा गाउँपालिकाले पनि आफ्नो बार्षिक क्यालेन्डरमा नै जनयुद्ध दिवसका दिन सार्वजनिक विदा उल्लेख गरेकाले फागुन १ गते जनयुद्ध दिवसका दिन पालिका भित्र सार्वजनिक विदा भएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
उनले संघ सरकारले जनयुद्ध दिवसका दिन दिएको विदा फिर्ता लिएको भएपनि भीमसेन थापा गाउँपालिकाले विदा फिर्ता नलिएको उनले बताए ।




