काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदन दिएका मध्ये १४ जनाको नामवली सार्वजनिक गरेको छ । ४३ जनाको आवेदन परेकोमा सिफारिस समितिले १४ जनाको सर्ट लिस्टमा राखेर नाम सार्वजनिक गरेको हो ।
सार्वजनिक भएका नामावलीहरुका कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा छन् ।
नाम सार्वजनिक भएकाहरुको माघ २९ देखि फागुन २ गतेसम्म प्रस्तुतीकरण र अन्तर्वार्ता हुने समितिले जनाएको छ । अन्तर्वार्तापछि ३ जनाको नाम कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिफारिस गरिने छ । त्यसैमध्येबाट प्रधानमन्त्रीले १ जनालाई कुलपति छनोट गर्नेछन् ।
उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकाल पूरा भएपछि शिक्षाध्यक्ष शिवलाल भुसाललाई ३ महिनाका लागि निमित्तको जिम्मेवारी दिइएको थियो । छनोट प्रकृया टुगों नलाग्दासम्म उनले नै जिम्मेवारी पाउने छन् ।





















